दिल्ली दूतावासमा चुच्चे नक्सा हटाएर किन ‘बुच्चे नक्सा’ राखियाे ? : अध्यक्ष ओली

 चैत २०, २०७८ आइतबार १७:१०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतमा रहेकाे नेपाली दूतावासमा नभएको भन्दै आपत्ति जनाउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभइ बुच्चे नक्सा भएको उल्लेख गर्दै आपत्ति जनाउनुभएको हो । 

आज आइतवार नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उहाँले देशको नक्सा नै गायब बनाउने योभन्दा अरू राष्ट्रिय लज्जाको विषय अरू केही नहुने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको सय दिनमा चुच्चे नक्सा हटाउने काम भयो । के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलबाड । हिजोमात्रै भारतको दिल्लीमा रहेकाे नेपाली दूतावासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रको शिर निहुँर्‍याउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ? शेरबहादुरजी राष्ट्रिय बेइमानीका लागि दिल्ली जानुभएकाे हो ? फर्किनु अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो सरकारले बनाएर संविधान संशोधन गरेर राखेको नक्सा झुन्ड्याएर फर्किनु हुन्छ कि हटाएर फर्किनु हुन्छ ? शेरबहादुरजी ।’

अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार हटाएर कांग्रेसको पछिपछि लागेको भन्दै प्रचण्ड र माधव नेपालहरूलाई कटाक्ष पनि गर्नुभयो । अध्यक्ष ओलीले आफ्नै सरकार र सिङ्गै मन्त्रालय हुँदा उनीहरूले आफूलाई कामै गर्न नदिएको पनि दोहोर्‍याउनुभयाे । 

ओलीले वर्तमान सरकारले देशकाे अर्थतन्त्रसमेत ध्वस्त बनाएको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया