विराटनगरलाई भ्रष्टाचार शून्यदेखि प्रदेशको स्थायी राजधानी बनाउनेसम्मका प्रतिबद्धता

 बैशाख २२, २०७९ बिहिबार १३:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

विराटनगर राजनीति र उद्योग अर्थात अर्थतन्त्रका हिसाबले पनि चर्चित महानगर हो । प्रदेश-१ को अस्थायी राजधानीसमेत रहेको विराटनगरमा आफ्नो जित निकाल्न दल र उम्मेदवार चुनावी मैदानमा छन् । मेयरमा १३ जनाको उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा एमाले र सत्ता गठबन्धनबीच हुने देखिएको छ । 

तर, गठबन्धनमा बागी उम्मेदवारी परेपछि गठबन्धनका उम्मेदवार नागेश कोइराला थप दबाबमा पर्नुभएको छ । मेयरमा मात्र नभएर उपमेयरमा समेत माओवादीको बागी उम्मेदवारी परेका कारण पनि गठबन्धनमा चिन्ता थपिएको हो । हिजो बुधवार मात्रै कांग्रेसले विराटनगरमा प्रदेशस्तरीय एकल चुनावी सभा गरेको छ । 

२०७४ सालको चुनावमा विराटनगरमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । त्यस बेला एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच गठबन्धन भएको थियो । अर्को गठबन्धन माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम बीच भएको थियो । कांग्रेस भने गठबन्धन विना चुनावी मैदानमा एक्लै थियो । तर, प्रमुख तथा उपप्रमुख दुवैमा कांग्रेसका उम्मेदवारहरुले चुनाव जितेका थिए । 

२०७४ सालको चुनावमा कांग्रेसका भीम पराजुलीले २३,०३१ भोट ल्याएर विजयी हुनु भएको थियो । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका विनोदप्रसाद ढकालले १७, ३२१ मत ल्याउनु भएको थियो । सङ्घीय समाजवादी फोरमका उमेशकुमार यादवले १४,९५८ मत प्राप्त गर्नुभएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रह्लाद प्रसाद साहले ५,५२४ मत प्राप्त गर्नु भएको थियो । २०७४ को चुनावमा भन्दा यसपालि करिब २० हजार मतदाता थपिएका छन् ।

यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य पार्टीका उम्मेदवारहरु फेरिएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका नागेश कोइराला तथा एमालेका सागर थापा नै अहिले यहाँ चर्चाको केन्द्रमा हुनुहुन्छ । विराटनगरका मेयर पदका उम्मेदवारहरुको महानगरवासी समक्ष व्यक्त गर्नु भएको प्रतिबद्धताहरु यस्ता छन् : 

भ्रष्टाचार शून्य विराटनगर 

नागेश कोइराला, कांग्रेस 

मेरो पहिलो प्रतिबद्धता भनेको विराटनगरलाई भ्रष्टाचार शून्य महानगर बनाउने हो । यसका अलावा अन्य पाँच वटा मेरा मुख्य बुँदा छन् । जसमा पहिलो भनेको करको दायरा बढाउने कर छुट गराउने हो । दोस्रो भनेको स्वास्थ्य अनि तेस्रोमा शिक्षा, चौथाे सरसफाइ तथा पाँचौँमा खानेपानी रहेको छ । 

विराटनगरमा दश हजार घर सुकुम्वासी रहेका छन् । तिनीहरुलाई एकीकृत बस्तीमा राखेर उनीहरुको स्वामित्वमा रहने गरी बस्ती विकास गराउने योजना छ । त्यसबाहेक विराटनगरमा बाढीको ठूलो समस्या छ । यहाँ दुईतिर दुई वटा खोला भएका कारण त्यहाँबाट आएको बाढीले ठूलो समस्या पार्ने गरेको छ । त्यहाँ दुई वटा करिडोर बनाएर त्यहाँ हरियालीसहित सडक बनाएर, सानो सानो पार्क समेत बनाएर, तटबन्ध विकास गरेर, बाढी आउन बन्द गर्ने मुख्य योजना लिएर मेरो उम्मेदवारी रहेको छ । 

प्रदेश-१ को स्थायी राजधानी विराटनगर

सागर थापा, एमाले 

विराटनगर अहिले प्रदेश नं १ को अस्थायी राजधानीको रुपमा रहेको छ । अस्थायी राजधानीलाई स्थायी बनाउँदै यसका लागि चाहिने भौतिक पूर्वाधार निर्माण गर्ने, विराटनगरभित्र चरम विकासको अभाव छ त्यसलाई मेट्ने हो । विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने भनिए पनि अहिले त्यो बन्द भएका कारण त्यसलाई अन्तर्राष्ट्रिय उडान भर्न सक्ने किसिमको बनाउने योजना छ । सुकुम्वासीको पूर्ण रुपले व्यवस्थापन गर्ने । विराट राजाको दरबारलाई पर्यटकीय नगरीको रुपमा विकास गरेर धार्मिक पर्यटक भित्र्याउने । 

विराटनगरलाई खेल नगरको रुपमा विकास गर्ने । नयाँ नयाँ खेलाडी उत्पादन गर्ने । उत्पादित खेलाडीलाई, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने । विराटनगरमा भएको चक्रपथलाई एक वर्ष भित्रमा पूर्णता दिने । नहरको बाटोलाई बाइपासको रुपमा विकास गर्ने । सरसफाइको समस्यालाई ध्यान दिइ निकास दिने योजना छ । 

महत्वाकाङ्क्षी योजनाहरु छैनन्

उमेश कुमार यादव, स्वतन्त्र 

मेरा कुनै पनि महत्वाकाङ्क्षी योजनाहरु छैनन् । विराटनगरको स्थानीय बासिन्दा भएका कारण पनि विराटनगरको स्थानीय समस्यालाई समाधान गर्ने योजना लिएर आएको छु ।

शिक्षाका क्षेत्रमा, सरसफाइको क्षेत्रमा, सुकुम्वासीको समस्या सम्बन्धमा, बाढी पहिरो सम्बन्धमा, स्वास्थ्य क्षेत्र लगायत किसान, मजदुर, युवा स्वरोजगारका समस्या समाधान गर्ने मेरा योजनाहरु रहेका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया