ब्लिन्केन–सी भेटवार्ता : ‘चीन र अमेरिकाकाे सफलता एकअर्काका लागि खतराकाे सट्टा अवसर’

 असार ४, २०८० सोमबार १७:१८:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको छ । अमेरिका–चीनकाे यो भेटलाई संसारभरबाट महत्त्वका साथ हेरिएको छ ।

'ग्रेट हल अफ द पिपुल' मा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले चीन–अमेरिकामात्र नभई विश्वभरकै अवस्थालाई सामान्य बनाउन दुई देशबीचको सम्बन्ध सुधार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति सीले अमेरिकीहरू जस्तै चिनियाँहरू पनि सम्मानित, आत्मविश्वासी र आत्मनिर्भर रहेकाले दुवै देशका नागरिकलाई सम्मानित जीवन जिउने अधिकार रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

दुवै देशले साझा हितलाई महत्त्व दिनुपर्ने भन्दै सीले चीन र अमेरिकाको सफलता एकअर्काका लागि खतराको सट्टा अवसर भएको उल्लेख गर्नुभयो । चीन र अमेरिकाको राम्रो सम्बन्धले विश्वशान्ति र विकासमा योगदान पुर्‍याउने भन्दै दुवै देश रचनात्मक बन्नुपर्ने सीको भनाइ छ । चीनले अमेरिकाको सधैँ सम्मान गरेको र अमेरिकाले पनि चीनको वैध अधिकारमा हस्तक्षेप गर्न नहुने चिनियाँ राष्ट्रपति सीले बताउनुभएको खबरमा उल्लेख छ ।

भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले चिनियाँ राष्ट्रपति सीको कुरामा समर्थन जनाउँदै दुई देशको सम्बन्ध सुधारमा जोड दिनुभएको छ । ब्लिन्केन पछिल्लो पाँच वर्षमा चीन भ्रमण गर्ने सबैभन्दा उच्च तहका अमेरिकी कुटनीतिज्ञ हुनुहुन्छ ।

पूर्वनिर्धारित तालिकामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता उल्लेख थिएन तर पछि यो भेट तय गरिएको थियो । राष्ट्रपति सीसँगको भेटअघि ब्लिन्केनले चिनियाँ समकक्षीसँग छ घण्टा लामो वार्ता गर्नुभएको थियो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया