विश्वमा खाद्यान्न सङ्कट कोरोना महामारीअघिको स्तरभन्दा माथि

 असार २८, २०८० बिहीबार ६:५४:५९ | एजेन्सी
unn.prixa.net

विश्वमा खाद्यान्न सङ्कट कोरोना महामारीअघिको स्तरभन्दा माथि रहेको प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा विश्व जनसङ्ख्याको ७ दशमलव ९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ९ दशमलव २ प्रतिशत पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा भोकमरी उन्मूलन हुने सम्भावना नरहेको उल्लेख छ । गएको वर्ष अनुमानित ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाख मानिसले भोकमरीको सामना गरेका थिए ।

अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएको देखिएको छ । प्रतिवेदनमा विश्वले अझै पनि महामारीको असर खेपिरहेको र अहिले रुस–युक्रेन युद्धले थप जटिलतातर्फ लगेको उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१९ यता खाद्य सङ्ककटबाट थप १२ करोड २० लाख मानिसलाई भोकमरीतर्फ लगेको छ ।

विश्वले आफ्नो प्रयासलाई दोब्बर बनाउन सकेन भने सन् २०३० सम्ममा भोकमरी, खाद्य असुरक्षा र कुपोषणजस्ता सबै प्रकारका खाल सङ्कटलाई उन्मूलन गर्ने लक्ष्यको पहुँचबाहिर रहने प्रतिवेदनमा भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सन् २०३० को पोषण लक्ष्य हासिल गर्ने दिशामा केही क्षेत्र अघि बढेको पनि बताउनुभएको छ । तर समग्रमा दिगो विकास लक्ष्यलाई उकास्न तीव्र र तत्काल विश्वव्यापी प्रयासको खाँचो रहेकोमा उहाँको जोड छ ।

खाद्य असुरक्षा र कुपोषणका प्रमुख कारक द्वन्द्व, आर्थिक सङ्कट, प्राकृतिक विपत्तिका साथै असमानता रहेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले बताएका छन् ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया