प्रचण्ड र म एकै दिन 'हाेल–टाइमर' भएर हिँडेका हाैँ : नारायण दाहाल

 चैत २९, २०७८ मंगलबार १३:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकै दिन पार्टीमा पूर्णकालीन भएर हिँडेको बताउनुभयो । आफू निरन्तर पार्टीका काममा रहेको उल्लेख गर्दै उहाँले आफ्नो विरोध हुने गरेका कारण आफूले पार्टीबाट धेरै अवसर गुमाउनुपरेको गुनासाे गर्नुभयाे ।

आज मङ्गलवार राष्ट्रिय सभाको सदस्यका रूपमा शपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयो, ‘मेरो हैसियतको कुरा गर्दा अध्यक्ष र म एकैदिन होल–टाइमर भएर हिँडेको हाे । म निरन्तर पार्टीमा छु । निरन्तर काम गरेको छु । मेरो त दाबी के हो भने यस्तै बाहिरका कुराहरूले गर्दा मैले पाउनुपर्ने जति अवसर मैले गुमाउनुपरेको छ ।’

राष्ट्रिय सभा सदस्य दाहालले नेपाली नागरिककाे भावना र चाहनालाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बजेटको प्रक्रिया नजिकिन लागेको उल्लेख गर्दै बजेटलाई देशको समृद्धिको पक्षमा लगाउन लाग्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मुख्यतः सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा अपूरा रहेका कामहरूलाई संस्थागत गर्ने विषयहरूलाई अलि गम्भीरताका साथ हेर्ने कुरामा हाम्राे भूमिका रहन्छ । त्यसपछि राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, जनताको स्वाधीनता, राष्ट्रिय अखण्डताका सन्दर्भमा काम गर्ने कुरा छँदैछ । पहिले अन्तरिम कालमा पनि मैले डेढ वर्ष काम गरेँ । संविधान सभामा पनि चार वर्ष काम गरेँ । धेरै नौलो त मलाई पक्कै हुँदैन होला ।’

राष्ट्रिय सभा सदस्य दाहालले अहिले पार्टी र जनप्रतिनिधिप्रति नागरिकमा वितृष्णा पैदा हुँदै गएकाले आफ्नो व्यवहारबाट ती धारणालाई बदल्ने पनि बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने महत्त्वपूर्ण काम रहेको पनि बताउनुभयो । 

दाहालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको रूपमा शपथ ग्रहण गर्नुभएको हो । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया