पालिकाले जमिन बाँझाे नराख्ने नीति बनाइ युवा र किसानलाई प्रेरित गर्नुपर्छ : राष्ट्रपति

 पुष ७, २०७९ बिहीबार १८:४७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताउनुभएको छ । 

आज बिहीवार बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले एकातिर व्यापार घाटा निरन्तर बढिरहेको र अर्कोतिर आयातमाथि निर्भरता विस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आयातमाथि निर्भरता विस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उपार्जन बढाउन, वन पैदावर र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, पर्यटन प्रवर्द्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक भएको पनि बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘वर्तमान अवस्थामा हाम्रो राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको छ । एकातिर व्यापार घाटा निरन्तर बढिरहेको छ भने अर्कोतिर आयातमाथि हाम्रो निर्भरता विस्तार भइरहेको छ । यसबाट हाम्रो विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप बढेको छ । हामीले यी चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्छ । हरेक पालिकाले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानलाई प्रेरित गर्न उद्योगी व्यवसायीसँग मिलेर काम गर्न आवश्यकता छ । यसबाट केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुका साथै रोजगारी उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायन रोक्न सकिन्छ ।’ 

राष्ट्रपति भण्डारीले किसान र उद्योगीले राज्यको सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो । उहाँले देशको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणसँगै अन्य ठाउँकाे खोजी गर्न आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पुजा बराल

    Dec. 22, 2022, 8:06 p.m.

    जमिन बाझो छैन ।तर फलाएको नबिकेर हैरान छ ।हामिलाइ अनुदान चहिदैन तर हाम्रो उत्पादन किन्न सक्नुपरो सरकार ।गर्न खोज्नेलाइ प्रोत्साहन छैन,ब्यबस्थापन छैन बेकारको नीति ।

  •  0 Reply

तपाईको प्रतिक्रिया